काठमाडौं । पोखरामा जारी २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलमा भुटनिज युथ एससी अमेरिका फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनीज फाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयमा भुटानिजको जितमा रोजिन प्रजापतिले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । उनले प्रविन बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए ।
दोस्रो पटक आहा–रारा पोखरा गोल्डकप खेल्न आईपुगेको प्रदिप हुँमागाईको प्रशिक्षणमा रहेको भुटनिज अमेरिकी टोली पहिलो पटक फाइलनमा पुग्न सफल भएको हो । अघिल्लो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको भुटानिज ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
अघिल्लो दुई खेलमा उच्च प्रदर्शन गर्दै अघि बढेको चर्च ब्वाइज खेलको ८४ औँ मिनेटमा आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि दश खेलाडीमा सीमित भएको थियो । खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए ।
अब शनिबार हुने फाइनल खेलमा भुटानिजले २०७७ सालको च्याम्पियन संकटा क्लबको सामना गर्नेछ । संकटाले पहिलो सेमिफाईनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधि भिडन्तको लागि स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।