काठमाडौं । पोखरामा जारी २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलमा संकटा फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
प्रतियोगितामा ‘बाई’ पाएर सिधैँ क्वार्टरफाइनल खेलेको संकटालाई जित दिलाउन मेसुके ओलोमेउ, सुरज ज्यु ठकुरी र स्टेफन विनोङले गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे । खेलको १४ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका दिनेश हेमजनलाई संकटाका निशान खड्काले डिएरियामा लडाएपछि पेनाल्टि पाएको थियो ।
खेलको ३६ औं मिनेटमा कप्तान सुनिल बलले पासमा मेसुकेले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । ७९ औं मिनेटमा संकटाका सुरज ज्यु ठकुरीले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । यस्तै, खेलको इन्जुरी टाइममा विनोङले गोल गरेर संकटालाई ३–१ को जित दिलाएका थिए ।
२०७७ सालमा च्याम्पियन समेत बनेको संकटाको यो आठौं सहभागिता हो । संकटा तेस्रो पटक सेमिफाइनल प्रवेश गरेको हो । संकटाले अब फाइनल प्रवेशका लागि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार मनाङ मस्र्याङ्दी क्लब र भुटानिज युथ स्पोर्ट्स क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही पुस २३ गते हुनेछ ।