काठमाडौं । पोखरामा जारी २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।
चर्च ब्वाइजलाई जित दिलाउनका लागि फरवार्ड आशिष चापागाईले २ गोल गरे । आशिष चौंधरीले १ गोल थपेका थिए । यस्तै, मछिन्द्रका लागि सौरभ सुब्बाले १ गोल फर्काएपनि टिमको हार भने टार्न सकेनन् ।
खेलको २३ औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, पहिलो हाफको इन्जुरी समयमा चापागाईंले व्यक्तिगत दोश्रो गोल गरेपछि चर्च ब्वाइजको अग्रता २-० को बनाएका थिए ।
खेलको ६४ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए । त्यसपछि, खेलको ८९ औं मिनेटमा मछिन्द्रका सौरभले सान्त्वना गोल गरे । यसै वर्ष 'ए' डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज युनाइटेड ३-१ ले विजयी भयो । चर्च ब्वाइज युनाइटेडका आशिष चापागाई ‘म्यान अफ दी म्याच’ भए ।
शुक्रबार भएको खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा पुगेको थियो । प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, भुटानिज युथ स्पोर्ट्स क्लब युएसए, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही पुस २३ गते हुनेछ ।