काठमाडौं । डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब २२ औं आहा–रारा पोखरा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक/एक गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा बुद्धिमान राईको सेन्टरबाट आएको लामो पासलाई कलेक्ट गर्दै विकु तामाङले गोल गरेर सुरुआती अग्रता दिलाए ।
खेलको ४० औं मिनेटमा युवराजले गोल गरेपछि एपीएफले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा धरानले खेलमा केही सुधार गर्दै एपीएफलाई केही दबाबमा राखे पनि गोल गर्न सकेन । एपीएफले सोही अग्रता कायम राख्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।
धरानले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराएर क्वार्टरफाइनल प्रवेश गरेको थियो । एपीएफ डिफेन्डिङ च्याम्पियन भएकोले सिधै क्वार्टरफाइनल खेलेको हो । गत वर्ष भएको आहा-रारा गोल्डकपमा एपीएफले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै पहिलो पटक उपाधि चुमेको थियो ।
एपीएफका विकु तामाङ म्यान अफ दी म्याच भए । एपीएफले पुस २० मा त्रिभुवन आर्मी र संकटा क्लबबीच हुने खेलको विजेतासँग सेमीफाइनलमा सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच क्वार्टरफाइनल हुने छ । शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, भुटानिज युथ स्पोर्ट्स क्लब युएसए, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही पुस २३ गते हुनेछ ।