काठमाडौं । धरान फुटबल क्लबले २२ औं आहा-रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो । विजयी भएको धरानले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
धरानलाई जित दिलाउन प्रकाश बुढाथोकीले खेलको पाचौँ मिनेटमा निर्णायक गोल गरे । उनले डिबक्स क्षेत्र नजिकै पाएको फ्रीकिकमा सोझै गोल गरे । प्रकाशलाई सहाराका भागवत चौधरीले लडाएपछी धरानले फ्रीकिक पाएको थियो ।
खेलको १० औं मिनेटमा सहाराले खेलमा फर्किने अवसर खेर फाल्यो । कप्तान सुशिल लामाको लो क्रसमा विक्रम सिंह ठकुरीले हेडर प्रहार गरेपनि पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा धरानमाथि दबाब बनाएर खेलमा फर्कन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसक्दा आयोजक सहारा पहिलो खेलबाटै बाहिरिनु परेको छ ।
धरानले अब शनिबार क्वाटरफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
नक आउट पद्धतिमा सञ्चालन हुने २२ औं आहा-रारा पोखरा गोल्डकपमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, भुटानिज युथ स्पोर्ट्स क्लब युएसए, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही पुस २३ गते हुनेछ ।
अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित
प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई नगद रु ५० हजार पाँचसहित सम्मान गरिएको छ । पोखरा महानगर प्रमुख आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ लगायतले तामाङलाई सम्मान गरे ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कृत गरिएको सहाराले जनाएको छ । यसअघि, सहारा क्लबको यस सम्मानबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट सम्मानित भइसकेका छन् ।