काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।
पुलिसले प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो । सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थानमा रहन सफल भयो ।
वाग्मती प्रदेश १ रजत र २ कास्यसहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्यपदक हात पारे ।
बुधबार सम्पन्न महिला एकल स्पर्धामा नेपाल पुलिस क्लबकी नवीताले नन्द एलिना महर्जनलाई ४–३ को सेटमा हराउँदै स्वर्णपदक जितेकी हुन् । नवीताले एलिनालाई ८–११, ६–११, १४–१२, ८–११, ११–९, ११–६, १५–१३ को नतिजामा हराएकी हुन् । एलिना पनि नेपाल पुलिस क्लबकै खेलाडी हुन् । यस स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ)की सिक्का सुवाल र त्रिभुवन आर्मीकी रविना महर्जनले कास्यपदक हात पारे ।
पुरुष एकल स्पर्धामा नेपाल पुलिस क्लबका स्यान्टुले एपीएफका रुविन महर्जनलाई ३–१ को सेटमा हराए । स्यान्टुले रुविनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को स्कोरमा हराएका हुन् । यस स्पर्धामा नेपाल पुलिसका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्यपदक जिते ।
त्यसअघि, सोमबार पुलिस क्लबले पुरुष र महिला टिम स्पर्धा तथा पुुरुष युगल र मिक्स युगल गरी चार स्पर्धामा स्वर्णपदक जितेको हो । एपीएफले महिला युगलमा स्वर्णपदक जितेको थियो ।
नेपाल पुलिस क्लबको पुुरुष टिम इभेन्टमा सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोकाले प्रतिस्पर्धा गरेका थिए । महिला टिम इभेन्टमा नविता श्रेष्ठ, एलिना महर्जन, मञ्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष युगलमा स्यान्टु श्रेष्ठ र विनेश खनियाँ, मिक्स युगलमा विनेश खनियाँ र एलिना महर्जनले प्रतिस्पर्धा गरेका थिए । महिला युगलमा स्वर्ण पदक जित्ने एपीएफको टिमममा सिक्का सुवाल र वियन्का राई थिए ।
प्रतियोगितामा सहभागी मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् ।
समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए।