काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले ३ तथा लुम्विनि र कर्णाली प्रदेशले १/१ स्वर्ण पदक हात पारेका छन् ।
पोखरा रंगशालामा सोमबार भएको महिला १ सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन् । हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन् ।
यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर काश्य पदक जितिन् ।
११० मिटर हर्डल्स : चौधरीलाई स्वर्ण
यसैगरी १ सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए। चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका राम प्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी काश्य पदक जिते ।
डिसकस थ्रो : ओली र अधिकारीलाई स्वर्ण
एथ्लेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटर सहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कास्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन् ।
३००० मिटर स्टिपल चेस : दुर्गालाई कीर्तिमान सहित स्वर्ण
कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले पुरुष ३ हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितेका छन् । उनले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए ।
सो स्पर्धामा एपीएफका अजित कुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जिते ।