काठमाडौं, भाद्र २८ । पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थपिएको छ । नौ हजार एक सय ६५ सय जनाको पिसिआर परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका नयाँ संक्रमितमा काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना गरी काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७–२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४–१४ जना, नुवाकोटका नौ जना, नवलपरासीका आठ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका सात–सात जना, स्याङ्जाका पाँच जना, पर्सा, बारा र कपिलवस्तुका चार–चार जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका तीन–तीन जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका दुई–दुई जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका एक–एक जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप ११ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ । पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । डा.गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका ६५–६५ वर्षीया दुई जना महिला, ५९ वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ५९ वर्षीय पुरुष, मोरङका ६९ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीय महिला रहेका छन् । योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।