काठमाडौं, भाद्र २६ । एकै दिनमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जुन हालसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार सात सय एक पीसीआर परीक्षण भएकोमा चार सय ६३ महिला र नौ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा गरी काठमाडौं उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा पनि एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो । यसअघि बिहिबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ ।
त्यस्तै, आज रुपन्देहीका १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४–१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८, सर्लाहीका ७, दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६–६ जना, सप्तरी र स्याङ्जाका ४–४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३–३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २–२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १–१ जनामा पनि संक्रमण देखिएको छ ।
मुलुकभर हालसम्म ५१ हजार नौ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कूल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । संक्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत हो । विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन् ।
त्यस्तै, कोरोनाबाट आज एक महिला र चार पुरुष गरी थप पाँच जनाको मृत्यु भएको छ । मोरङमा ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षीय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय २२ पुगेको छ ।