काठमाडौं, भाद्र १५ । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा ११ हजार चार सय ९० नमूना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेमा काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना गरी काठमाडौं उपत्यकामा २९८ जना रहेका छन् । त्यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३–२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३–१३ जना र रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ । संखुवासभा र नवलपुरका ९–९ जना, सिन्धुली र कञ्चनपुरका ७–७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५–५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३–३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २–२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १–१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या दुई सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुने संक्रमितमा ३ महिला र ४ पुरुष गरी ७ जना रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीय र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ भने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय रहेका छन् । यसअघि आइतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३९ हजार चार सय ६० पुगेको छ । जसमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज छन् । हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ । आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन् ।