काठमाडौं, भाद्र १४ । पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको आजको नियमित प्रेस ब्रिफिङका अनुसार देशभरका प्रयोगशालामा १२ हजार सात सय १७ पीसीआर परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा नेपालमा यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन् । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच हजार चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका दुई–दुई तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका एक–एक जना गरी १० जना रहेका छन् । २४ घण्टाको अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्मकै बढी हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कूल संख्या दुई सय २१ जना पुगेको छ ।
हालसम्म देशभरमा कोरोना संक्रमितको कूल संख्या ३८ हजार पाँचसय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कूल निको हुनेको संख्या २० हजार आठ सय २२ पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुगेको छ । तीमध्ये १० हजार ६ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।