काठमाडौं, भाद्र १२ । पछिल्लो २४ घण्टामा देशभर नौ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ३३४ महिला र ५९३ पुरुष गरी देशभर थप ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या चार हजार आठ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । आजसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । ६४४६ जना होम आइसोलेसन र ९५७३ जना संस्थागत आइसोलेसन गरी हाल १६ हजार १९ जना आइसोलेसनमा छन् । हालसम्म ६ लाख ५८ हजार एक सय १० जनाको पिसिआर गरिएको छ ।
त्यस्तै, आज कोरोना संक्रमणका कारण ४ महिला र ८ पुरुष गरी १२ जनाको ज्यान गएको छ । मृतकहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एक–एक जना महिला छन् । उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक–एक जना पुरुष रहेका छन् । २४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो । यसअघि भदौ ५ गते र भदौ १० गते ११–११ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको छ ।