काठमाडौं, भाद्र २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको कपुरधारास्थित निवासमै आज साँझ निधन भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म महत्वपूर्ण योगदान रहेको घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् । नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।
नेपाली सेनाको सलामीसहित उनको भोलि अन्त्यष्टि गरिने जनाइएको छ । घिमिरेको परिवारले मंगलबार नै उनको अन्तिम संस्कार गर्ने बताए पनि प्रधानमन्त्री कार्यालयले बुधबारमात्र अन्तिम श्रद्धाञ्जलि गर्न आग्रह गरेको थियो । उनको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि हुने भएको हो ।