काठमाडौं, साउन ३२ । जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार बिहान खसेको पहिरोले पुरिएका ३५ घरसँगै ३९ जना बेपत्ता भएका मध्ये १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार पहिरोले पुरिएकाहरुमा शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो भने शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको हो ।
प्रहरी कार्यालयका अनुसार शनिबार भने स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोपीडितलाई आर्थिक सहयोग
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, दुबै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
त्यसैगरी, जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रुपैयाँ सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले बताए ।