काठमाडौं, साउन २७ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज काठमाडौंका एकसय १०, भक्तपुरमा ८ र ललितपुरमा १६ गरी कूल एकसय ३४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन् ।
आज थपिएकासहित काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएसँगै काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३ सय १४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार नौ सय ४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन् । हाल देशभर सात हजार दुई सय एक जना सक्रिय संक्रमित रहेका छन् । जसमा प्रदेश १ मा ५३९ जना, प्रदेश २ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकी प्रदेशमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ जना रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५८ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन् । धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा निधन भएको हो । त्यसैगरी धनुषाकै क्यान्सर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । काभ्रेकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते निधन भएको छ । साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका सिन्धुपाल्चकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।