काठमाडौं, असार १७ । आज चार सय ८२ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज चार सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये एकसय १७ महिला र तीन सय ६५ पुरुष रहेका छन् ।
त्यस्तै, आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको थियो । मृतक पुरुषको स्वाब संकलन गरी सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनी असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको बिरामी भएको बताए । मृतक पुरुषसँगै कुरुवा बसेका दुई जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । आज थपिएका नयाँ संक्रमितमा काठमाडौंका पाँच महिला र पाँच पुरुष, भक्तपुरका एक पुरुष र एक महिला र ललितपुरका तीन महिला, दुई पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, मंगलबार काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
करिब पाँच हजार पिसिआर परीक्षण
पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार आठ सय ८६ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ३३ हजार दुई सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म तीन लाख ६ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार तीन सय ६० जना उपचाररत रहेका छन् । आजसम्म चार हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।