काठमाडौं, असार १५ । हेटौँडा–४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले आज पत्रकार सम्मेलनमार्फत सुस्मिता थापाको हत्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्की संलग्न रहेको सार्वजनिक गरेका हुन् ।
असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको क्रुरतापूर्वक हत्या हुनुमा दुईवटा कारण देखिन आएको छ । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनको पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ६ महिना अघि नै सुस्मिताका पति रुपेन्द्र थापाको कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनाबाट मृत्यु भएको थियो ।
घटना विवरणः
गत असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । ततपश्चात मृतक सुस्मिता र नन्द सिता भान्छा कोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावरी भएको कारण भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छा कोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् । त्यसपछि सुस्मीता भुईमा लड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरि उनलाई थप घाईते बनाउछिन् । सुस्मिताले बचाउबचाउ भन्ने स्वर निकालेपछि सासु तुलासा पनि भान्छा कोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरि हत्या गर्छन् । सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठामा फुटेका सिसाहरु, बिग्रेका भाँडाकुडा मिलाउछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गर्छन् । कोठा मिलाएर जिउमा र कपडामा लागेको रगत सफा गरेर भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरीसम्म घटना आइपुग्छ ।
ससुराको गलत नियत र बिमाले लियो ज्यानः
सुस्मिता क्षेत्री थापाको क्रुरतापूर्ण हत्या हुनुमा दुईवटा कारण देखिएको छ । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनको पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बुहारीकै कारणले छोराको मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मितालाई बाथरुममा जबरजस्ती करणीको उद्योग समेत गरेको प्रहरीले खुलाएको छ । प्रहरीले मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्तिबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई हत्याको कारण हुनसक्ने देखाएको छ । मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बिमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको पनि देखाएको छ ।
आजीवन कैद हुनेः
हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।