काठमाडौं, असार १४ । नेपालमा विगत २४ घण्टामा थप चार सय ६३ जनामा कोरोना भाइरस पुष्टि भएसँगै सङ्क्रमितको कूल संख्या १२ हजार सातसय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार एक सय पाँच जना महिला र पाँच सय ५८ जना पुरुषसहित चार सय ६३ संक्रमित भेटिएका हुन् ।
तीमध्ये हालसम्म तीन हजार १३ जना निको भएका छन् भने आजसम्म २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा एक सय ७९ जना निको भएका छन् । त्यस्तै, आज भेटिएका संक्रमितमा कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका एक, मोरङका १७ र झापाका दुई जना कोरोना संक्रमित भेटिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुका एक, अर्घाखाँचीका ६, दार्चुलाका एक, दोलखाका दुई, गोरखाका एक, गुल्मीका १७, खोटाङका चार, रौतहटका १७, सर्लाहीका एक र सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण भएको भेटिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा गुल्मीका २० र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण भेटिएको छ । पाटन अस्पतालको ल्याबमा धादिङ र ललितपुरका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ६३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका पाँच र नवलपरासी पूर्वका ३१ जना कोरोना संक्रमित भेटिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २९, पर्वतका दुई, सल्यानका एक, तनहुँका ६, लमजुङका एक र म्याग्दीका दुई जनामा समेत संक्रमण पाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका एक जना, पाल्पाका दुई, प्यूठानका ३५ गुल्मीका एक जना र रुपन्देहीका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३४ जना, कपिलवस्तुका पाँच जना र रोल्पाका एक जनामा कोरोना संक्रमण भेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका ३२ जना, रुकुम पश्चिमका एक र सल्यानका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ जना कैलालीका र डोटीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपालका सबै जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन् भने हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, अहिलेसम्म प्रदेश नं.२ र ५ मा सर्वाधिक संख्यामा कोभिड १९ भएका व्यक्ति भेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार विगत २४ घण्टामा ४९ सय ६२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या दुई लाख १५ हजार आठसय ३८ पुगेको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । अहिले देशभरि ६१ हजार सातसय ३१ जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।