काठमाडौं, असार ६ । पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार जसमा ४९ जना महिला र दुई सय ८२ जना पुरूष रहेका छन् । सबैभन्दा धेरै डोटीमा ६१ जना, पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधरामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सर्लाहीका नौ जना, मोरङ, प्युठान र धादिङका आठ–आठ जना, भक्तपुर, रौतहट र बर्दियाका सात–सात जना, दाङ र बारामा चार–चार जना, रामेछापमा तीन, सुनसरी र कैलालीमा दुई–दुई जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६ सय पाँच पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५ सय ७८ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । अहिलेसम्म जम्मा एक लाख ६९ हजार एकसय ६५ पीसीआर टेष्ट भएको छ भने दुई लाख ५२ हजार तीन सय आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा एक लाख दुई हजार दुई सय ४५ जना छन् ।