काठमाडौं, असार ३ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनाथ गाउपालिका ६ की ४६ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।
मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएकी ती महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा गत जेठ ३० गते भर्ना भएकी निमोनिया रोगले ग्रस्त ती महिलाको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो भने उनको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ । बाँकेमा भने कोरोना भाइरसबाट यो दोस्रो व्यक्तिको मृत्यु भएको हो । यसअघि बाँके जिल्लामा जेठ ४ गते नरैनापुर गाउपालिका ५ का २५ वर्षिय युवाको कोरोनाबाट मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । गुल्मीमा पनि कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।