काठमाडौं, जेठ ६ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आज मात्रै २४ महिला र तीन जना महिला गरी २७ संक्रमित थपिएका छन् । झापामा नौ, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन् ।
थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा संक्रमितको संख्या कूल चार सय दुई पुगेको छ, जसमा पुरुष तीन सय ४० र ६२ जना महिला रहेका छन् । नेपालमा हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप र सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ ।