काठमाडौं, जेठ ५ । नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान नौ जना र अपरान्ह थप ५३ गरी ६२ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या तीन सय ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज दिउँसो प्रेस विज्ञप्तिमार्फत ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गुल्मीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका एक जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् । संक्रमितमध्ये दुई सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । त्यस्तै, दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।
एउटै गाउँपालिकामा ५६ जना संक्रमित
एक जना संक्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै संक्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा संक्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं.८ मा २४ र वडा नं.७ मा एक जना गरी २५ जनामा संक्रमण देखिएको थियो ।