काठमाडौं, जेठ ३ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको करिब चार महिनापछि कोरोना भाइरसकै कारण कसैको मृत्यु भएको यो पहिलो पटक हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको हो ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमा छोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू गत २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।
पशुपति आर्यघाटमा दाहसंस्कार
कोरोनाबाट मृत्यु भएकी महिलाको आजै राति राजधानीको पशुपतिमा रहेको विद्युतीय शवदाहमा शव जलाइयो । धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेका थिए । यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो ।
मृतकको घर र माइती गाउँ सिल
यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । उनका अनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । जिल्लाको कोभिड १९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका बासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ । साथै सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ । यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।
संक्रमितको संख्या दुई सय ८१
पछिल्लो पटक धनुषाका दुई जनामा कोरोना संक्रमण देखिएसँग नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । शनिबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणअनुसार धनुषाका दुई जनामा कोरोना संक्रमण देखिएको हो । धनुषा निवासी २० र ६५ वर्षीय दुई पुरूषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । अहिले उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
