अानन्दराज त्रीपाठी, नेपाल विद्यार्थी संघका महामन्त्री हुन्। २७ वर्ष भन्दा बढी नेपालको शैक्षिक तथा प्रजातान्त्रीक अान्दोलनमा बिताएका त्रीपाठी ०४६ देखि निरन्तर राजनीतिमा सक्रिय रहेका छन्।
वि.सं. २०६२ मा विश्वभाषा स्ववियुमा सभापतीका प्रत्यासी रहेका त्रीपाठी त्यस अघि २०५७ मा विश्वभाषा कलेजमा विद्यार्थी युनियनमा सचिव रहेका थिए।
उनी वि.सं. २०५५ मा नेपाल ल क्याम्पसमा स्ववियु सचिव पनि रहेका थिए। नेपाल विद्यार्थी संघको लामो समय नेतृत्व तहमा रहेका त्रीपाठी नेपाली कांग्रेस महासमिति सदस्य पनि रहेका छन्। उनै त्रीपाठीसँग गरिएको कुराकानीको सार संक्षेप।
अाउँदो स्ववियु महाधिवेसन, तत्कालीन घटनाक्रम, शिक्षा र प्रा. डा. गोविन्द केसीको अनसन लगायतका विषयमा गरिएको कुराकानी।
कसरी सुरु भयो तपार्इको राजनीतिक यात्रा ?
–मेरा हजुर बुबा राजनीतिमा संलग्न हुनु हुन्थ्यो । राजनीतिमा आउने पारिवारिक वातावरण नै थियो । यस बाहेक म आँफै राजनीतिमा आकर्षित थिएँ । स्कुलमा हुने लगभग हरेक राजनीतिक गतिविधिमा संलग्न हुन्थेँ । प्रजातन्त्र अगाडि तथा पछाडि पनि हरेक आन्दोलनमा विद्यार्थीको रूपमा संलग्न थिएँ। त्यसबाट स्कुल, क्याम्पस, जिल्ला, क्षेत्र तथा केन्द्रीय राजनीतिमै संलग्न भएँ ।
अहिले म नेपाल विद्यार्थी संघको महामन्त्री जस्तो गरिमामय पदमा रहेको छु । यसका साथै नेपाली कांग्रेसको महासमितिको सदस्य पनि रहेको छु। राजनीतिसँगे विभिन्न सामाजिक संग सस्थाहरूमा पनि मेरो संलग्नता रहेको छ ।
नेपाली कांग्रेसको सदस्यता कहिले लिनु भयो अर्थात् औपचारिक राजनीति कहिलेबाट सुरू भयो ?
–सानो हुँदा सदस्यता लिने चलन भने थिएन । नेपाल विद्यार्थी संघको सदस्यता बाल कृष्ण खाँडको पालामै लिएको भए पनि मैले प्रजातन्त्र पछि वि.सं. २०४८ मा पार्टीको क्रियाशिल सदस्यता लिएको हुँ ।
राजनीतिलाई परबाट नियाल्दा र आफैँ राजनीतिमा भिज्दा के कति फरक पाउनु भयो ? सोचेको राजनीति र गर्ने राजनीति कस्तो हुँदो रहेछ त ?
–हरेक क्षेत्रमा सोच्ने र गर्ने कुरामा भिन्नता हुन्छ । बोल्ने र गर्ने कुरा विलकुल फरक हुन् । हामी कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्छौँ । तर, हामी परेर पढेर भन्दा धेरै जान्दछौँ । प्रयोगात्मक पढाई अहिलेको अपरिहार्यता हो । दाउरा ल्याएर मात्रै हुँदैन, आगो बाल्न सक्ने क्षमता पनि हुनु पर्दछ । अब अहिलेको शिक्षामा प्रयोगात्मकतालाई भित्र्याउन जरूरी छ ।
नेपाल विद्यार्थी संघको महामन्त्री जस्तो पदमा आइपुग्न तपाईले धेरै चुनावमा लड्नु भयो होला । तत्कालीन समयमा चुनावमा विजयी हुन तपाईले पनि विभिन्न वाचाहरू अवश्य गर्नु भयो होला । यस बिचमा तपाईले बोलेका कति कुरा पुरा गर्नु भयो ?
–विद्यार्थी राजनीति राष्ट्र चलाउने विद्यार्थीका हकहित तर्फ केन्द्रित हुन्छ । विद्यार्थी राजनीति शिक्षा तथा सामाजिक क्षेत्रका विषयमा केन्द्रित हुन्छ । अहिले समाजमा भएका विभिन्न परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका रहेको छ ।
हामीले सत्ता भन्दा पनि सामाजिक र वर्गीय मुद्दामा केन्द्रित हुन्छौँ । हामीले उठाएका केही वर्गीय मुद्दाहरू सफल भएका छन् र सफल हुन बाँकी मुद्दाहरूका लागि हामी सरोकार वालालाई ढकढक्याइ रहेका छौँ । हाम्रो पहलबाट हुने परिवर्तन निरन्तर भइरहेको छ ।
महामन्त्रीको पदमा पुगेपछि तपाईले परिवर्तन गरेको ठूलो कुरा कुन हो ? जुन तपाइले यो पदमा पुगेपछि गर्छु भन्ने सोच्नु भएको थियो ?
–हाम्रो मुख्य चासाको विषय नै शिक्षा हो । भर्खरै प्रकाशित भएको एसइइको परिक्षा फलमा भएको त्रुटिको बारेमा पनि हामीले नेपाल सरकारलाई सचेत गराएका छौँ ।
यसका साथै पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा पनि हामी निरन्तर सडकमा उत्रिरहेका छौँ । सरकारले जनहितका लागि कुनै काम गरेको नै छैन । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले हरेक क्षेत्रमा असर पार्दछ । सर्वसाधारणहरले मुल्य वृद्धिले गर्दा मार खेपिरहेका छन् । यस विषयमा हामीले सरकारलाई खबर गर्याैँ, लड्यौँ, सडकमा गयौँ । निम्न स्तर भएका जनता र विद्यार्थीहरूको पक्षमा हामी पूर्ण रूपमा लागेका छौँ । उनीहरूले प्रयोग गर्ने सामानको मुल्य दिन प्रतिदिन बढिरहेको छ । यसले गरीब विद्यार्थीको सपना पुरा गर्न बाधा पुर्याइरहेको छ । हामी यस विषयका केहि पक्षमा सफल भएका छौँ । तर हामी यतिले मात्रै सन्तुष्ट छैनौँ । मुल्य समायोजन गर्नु पर्छ भन्ने पक्ष लिएर हामी अहिले पनि सडकमा छौँ ।
शिक्षाको पक्षमा पनि हामी उत्तिकै केन्द्रित भएर लागेका छौँ । डाक्टर गोविन्द केसीले उठाएका माग प्रति हामी सकारात्मक छौँ । चिकित्सा शास्त्र गरिब विद्यार्थीहरूले पनि अध्ययन गर्न पाउनु पर्छ भन्ने उहाँको माग रहेको छ ।
निम्न स्तरका व्यक्तिको छोरा पनि डक्टर बनेर नेपाली जनताको सेवा गर्न पाउनु पर्छ भन्ने उहाँको माग एकदमै जायज छ । सरकारले सम्भ्रान्त परिवारका छोराहरूले मात्र चिकित्सा शास्त्र पढ्न पाउनु पर्छ भन्ने जस्तो नीति बनाएको छ ।
यस प्रति हामीले विरोध जनाएका छौँ । यस प्रति हामीले खबरदारी पनि गरिरहेका छौँ । युद्धका नाममा घटाइएका पारिवारिक घटना पनि उठिरहेका छन् । यसमा पनि हाम्रो ऐक्यबद्धता रहेको छ । समग्रमा जनजिवीकाको पक्षदेखि लिएर हामी अहिले न्यायको कुरामा पनि उत्तिकै मात्रामा केन्द्रित भएर लागेका छौँ ।
के–के छन् त नेपाल विद्यार्थी संघका भावी कार्य योजनाहरू ?
–नेपाल विद्यार्थी संघका भावि कार्य योजना भनेको तत्काल महाधिवेशन गरेर नयाँ पिँढीलाई संगठन जिम्मा लगाउने रहेको छ । गत वर्ष असोजको भेलाबाट पारित भए अनुसार आगामी साउन २३ देखि २८ सम्ममा सक्ने गरी महाधिवेशन गर्ने कार्यक्रम रहेको छ । यस अधिवेशन पछि राजनीतिमा केही गर्छु भन्ने र यस प्रति लालायित हुने नयाँ पिँढीलाई संगठन हस्तान्तरण गर्ने पक्षमा रहेका छौँ ।
डाक्टर गोविन्द केसीका माग प्रति सरकारले चासो नदेखाएको भन्ने कुराले व्यापकता पाएको छ । ओली सरकारको समेत आलोचना भएको छ । यसबारे तपाईको कस्तो धारणा रहेको छ ?
–डाक्टर गोविन्द केसीले उठाएका मुद्दाहरूलाई सरकारले वेवास्ता गरेकै हो । माथेमा आयोगको प्रतिवेदनमा पनि सरकार उदासीन नै देखिएको छ । डाक्टर केसीले स्वास्थ्यलाई एउटा अभियानका रूपमा लिएर अगाडि बढ्नु भएको छ ।
मेरो विचारमा उहाँको कुनै स्वार्थ छैन । कतिपयले उहाँलाई विभिन्न किसिमका आरोप लगाएका छन् । यो अत्यन्तै दुखद कुरा हो । किनभने गोविन्द केसी कुनै पक्षमा नलागी नेपाली जनताको पक्षमा बोल्दै आउनु भएको छ । उहाँ जनता र स्वास्थ्यका पक्षमा लाग्नु भएको छ । यो एकदम सकारात्मक रहेको छ ।
तर सरकार माफिया तन्त्रको जालोमा फसेर स्वास्थ्यलाई नै माफिया तन्त्रमा लाने तर्फ अग्रसर भएको देखिन्छ । यसको विरोधमा नेपाल विद्यार्थी संघ मात्रै नभएर हरेक नागरिक युवाहरूले पनि अगुवाई गरिरहेका छन् । हामी सरकारलाई यो खबरदारी गराउन चाहन्छौँ की गम्भीर विषय प्रति सरकार पनि गम्भीर हुन जरूरी छ ।
अहिलेका गम्भीर मागलाई सम्बोधन गर्नु सरकारको प्रमुख कर्तव्य हो । यसका लागि नेपाल विद्यार्थी संघले शान्तिपू्र्ण ढंगले सरकारलाई घचघच्याई रहेको छ । हाम्रो विरोधको शैली पनि लोकतान्त्रिक नै छ । जनताले विश्वास गरेर हामीलाई दिएको अधिकारको हामीले सदुपयोग गरेका छौँ । तर सरकारले विधिको शासनको विपरीत कार्य गरेमा हामी यसको विरूद्धमा सडकमा उत्रिन तयार छौँ । हामी वर्गीय हीतका मुद्दामा लड्न सँधै तयार छौँ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा केही बताइदिनु हुन्छ की ?
–पार्टि भित्र भएका केही असमझदारीले गर्दा युनियनको चुनाव हुन सकिरहेको छैन । तर, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव यहि फागुनमा गर्नु पर्छ भन्ने अभियानमा हामी रहेका छौँ । त्यसै अनुसार हाम्रो तयारी पनि रहेको छ।
अाउँदो पुस्तालार्इ नेपाल विद्यार्थी संघको बारेमा के भन्न चाहनु हुन्छ?
–नेपाल विद्यार्थी संगठन सदैब शैक्षिक र सामाजित मुद्दाहरुप्रति जिम्मेवार रहँदै अाएको छ। हरेक पुस्तासँगै संगठन नयाँ युगमा प्रवेश गर्छ। नेपाली विद्यार्थी माझ सबैभन्दा लोकप्रिय रहेको यो संघमा गुट–उपगुटको अन्त्य, नयाँ सोच र सक्रियताका साथ नयाँ दिशा दिन अावश्यक छ जस्को तयारी स्वरुप स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी अांतरिक रुपमा हुन थालिसकेको छ।
म सँगै सम्पूर्ण नेपाल विद्यार्थी संगठन यसप्रति प्रतिबद्ध रहेको छ। नेपाल विद्यार्थी संगठनलार्इ सदैब विद्यार्थी प्रिय बनाउने अभियानमा हातेमालो गर्दै अगाडी बढ्न अाह्वान गर्छु।