काठमाडौं, मंसिर २२ । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)को आठौँ दिन आज काठमाडौं, पोखरा र जनकपुर गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा सातौं दिनसम्म भारतले ११९ स्वर्णसहित अग्रता बनाएको छ भने ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
आज हुने खेलहरुः
फुटबल
पुरुष फुटबलतर्फ आइतबार नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्काे टिमको टुंगो लाग्ने छ । भुटान यस अघि नै फाइनल पुगिसकेको छ । त्यसैले आइतबार नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको आवश्यकता हुने छ । यदि पराजित भएको खण्डमा भने नेपालले कास्य पदकको लागि खेल्ने छ ।
क्रिकेट
क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू–२३ र बंगलादेश यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ । एक खेल अगावै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुबै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।
सुटिङ
सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आज नै हुनेछ ।
स्क्वास
स्क्वासतर्फ आज महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्टतर्फ मात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्ने छन् ।
जुडो
साग अन्तर्गत जुडोको खेल आजबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका चार महिला तथा पुरुषतर्फ तीन खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।
बक्सिङ
बक्सिङमा आजार विभिन्न १४ तौल समुहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समुहमा प्रतिस्पर्धा गर्नेछ ।
भारोत्तोलन
भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुषतर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।
ह्याण्डबल
ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।
बास्केटबल
बास्केटबलमा आज पनि लिग चरणको विभिन्न खेल हुनेछ । आज नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्ने छ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्ने छ । पुरुषमा नेपालले भारतसँग खेल्ने छ ।
पौडी
पौडीमा आज विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
आर्चरी
आर्चरीमा आज विभिन्न खेलहरु हुने छ । आज विभिन्न विधामा फाइनल खेल हुनेछ ।
फेन्सिङ
फेन्सिङमा आजदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।
टेनिस
टेनिसमा आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ ।
कुस्ती
कुस्तिको खेल जनकपुरमा आज पनि हुनेछ । नेपालले एक स्वर्ण जितिसकेको छ ।
बिच भलिबल
बिच भलिबलमा आज सेमिफाइनल र फाइनलका खेलहरु हुने छन् । महिला र पुरुषमा दुबै तर्फ उपाधिका लागि खेल्ने छन् ।