काठमाडौं, कार्तिक २० । गोल्डेन स्टेट मुभी मेकरले आयोजना गर्न लागेको चौथो ग्लोबल नेपाली फिल्म अवार्ड नोभेम्बरको ३० तारिकमा हुने भएको छ । आज अमेरिकास्थित क्यालिफोर्नियामा पत्रकार सम्मलेन गरी गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठले सो को जानकारी गराएका हुन् ।
अध्यक्ष श्रेष्ठका अनुसार उक्त अवार्डमा नेपालबाट करिब तीन दर्जन कलाकार तथा अतिथिहरुको सहभागी हुने छ । कार्यक्रममा आयोजक समितिका इभेन्ट मेनेजर एसबाबु (सन्दिप चौधरी)ले सो कार्यक्रमलाई व्यवस्थित गर्न मूल आयोजक समिति गठन गरिएको जानकारी गराए । उनका अनुसार गठित समितिमा पवन पौडेल, सुरज श्रेष्ठ, उत्सव लेखि, लाइन कौशल पीजेवी राणा, हरि ओझा, सागर श्रेष्ठ, मनिस पौडेल, जीडी पौडेल, ध्रुव बस्याल, प्रमिश ढकाल, श्याम भट्टराई, अस्मिता फुयाल रहेका छन् ।
उक्त कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रवद्र्धन गर्न लागिएको जनाइएको छ । कार्यक्रमलाई हिमालयन फाउण्डेशन कर्प सहकार्य गरेको छ । चौथो ग्लोबल अवार्ड कार्यक्रममा करिब ९० हजार डलर खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रम सकिएको भोलिपल्ट डिसेम्बर १ तारिकमा सानफ्रेसिस्को वाए एरियामा अतिथि, कलाकार, खेलाडी एवं सर्वसाधारणको नेपाल परेडमा सहभागी गराइने कार्यक्रम रहेको छ ।