ललितपुर, कार्तिक ६ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ बडादशैं, दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा बागमती गाउँपालिकाका वडा नं.४ प्युटारमा गत असोज २९ देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङ्गको सशक्तीकरण युवा क्लबले हात पारेको छ । बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगिता सोमबार समापन भएको हो ।
यसैगरी प्रतियोगितामा सहभागी मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लव दोश्रो र बकैया १० को ठाकुर सपोर्ट क्लवले तेश्रो स्थानसहित पुरस्कार हात पार्न सफल भएका छन् भने बागमती गाउँपालिका ७, गिम्दीको बसन्त युवा क्लवले चौथो स्थान हासिल गरेको छ । बिजेता प्रथम हुनेलाई एक लाख, दोस्रोलाई ५० हजार र सन्त्वाना दुई टिमलाई २०–२० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, मायाको चिनो प्रदान गरिएको छ ।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि वीरबहादुर लोप्चानाले जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत फुटबल खेल्न सक्ने खुबी भएका, नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँपालिका गौरवको विषय रहेको धारणा व्यक्त गरे । नेपालमा फुटबलको इतिहास स्मरण गराउँदै अध्यक्ष लोप्चनले भने, ‘विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर नेपाली इतिहास हेर्दा नेपाली फुटबलको यात्रा कठिन यात्रा हो । २००४ सालमा नरशम्सेरद्वारा सुरु फुटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फुटबलको रुपमा शुभारम्भ भयो, खेलप्रति नेपालीको दृष्टिकोण उदार भएन । यिनै कठिन यात्राको बीचमा आज बागमती गाउँगाउँमा आईपुग्नु र यो प्रतियोगिता हुनु हाम्रो गौरवको विषय हो ।’ लोप्चनले आगामी दिनहरुमा समेत यस्ताखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख रन्जना घिमिरे, प्रदेश नं.३ खेलकुद परिषद सदस्य विकाश तामाङ, नेपाली काङ्ग्रेस प्रदेश (२)खको सभापति रामकृष्ण तामाङ(इन्द्र), छोर्गे युवा क्लबको संस्थापक अध्यक्ष तथा सल्लाहकार श्यामबहादुर लोप्चानलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागी रहेको थियोे ।
यसैबीच फुटबल प्रतियोगितामा बेस्ट किपर विवेक देशार जर्सि नं.१४, शसक्तिकरण युवा क्लब बेष्ट डिफेन्स अनिल देशार जर्सि नं.१३, बेस्ट फरवाटफ आकाश मगर जर्सि नं.२, एकता बेण्ड क्लब र बेष्ट हाईस्कोर राजन सयाङतन जर्सि नं.१०, बेष्ट प्यलेर मिलन रुम्बा जर्सि नं.११, र बेष्ट कोच नारायणबहादुर भोम्जन आश्राङ सशक्तीकरण हात पर्न सफल भए ।