काठमाडौं, असोज ३० । यस वर्षको ११ औं यलकप ब्याडमिन्टन प्रतियोगिता–२०७६ (नेपाल संवत् ११३९) यस मंगल टोल सुुधार समितिको आयोजनामा यही २०७६ कार्तिक २ देखि कार्तिक ९ गतेसम्म पाटन दरबार क्षेत्र मंगलबजार स्थित आदर्श कन्या स्कुलको प्रांगणमा सञ्चालन हुने भएको छ । नयाँ खेलाडी उत्पादन र खेलाडीहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्ने उत्प्रेरणा जगाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
ब्याडमिन्टन वल्र्ड फेडरेसन तथा नेपाल ब्याड्मिन्टन संघको नियमानुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रिबाट खेल सञ्चालन गरिने छ । यस प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब एक सय ६० जना खेलाडीहरुले भाग लिने छन् । दुई वटा कोर्टमा चार इभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ । जसमा १५ वर्षमुनिका किशोरहरुको यु¬ १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्स डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन् । यस प्रतियोगितामा सम्पूर्ण खेलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । १५ वर्ष मुनिका केटाहरुको सिंगल इभेन्टमा पहिलो हुनेलाई आठ हजार रुपैयाँ, दोस्रो हुनेलाई चार हजार रुपैयाँ र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ, मिक्स डबलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई आठ हजार रुपैयाँ र तेस्रो हुनेलाई चार हजार रुपैयाँ, मेन्स डबलमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र भेट्रान्स युगलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई आठ हजार रुपैयाँ र तेस्रो हुनेलाई चार हजार रुपैयाँ प्रदान गरिने छ । पुुरस्कारको कूल नगद राशि दुई लाख १५ हजार रुपैयाँ रहेको छ ।
यस प्रतियोगिताका लागि प्रदेश सरकार, ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिका–१६ र १२ वडा कार्यालयलगायत विभिन्न संघसंस्था र निजी क्षेत्रको सहयोग रहेको छ । हेल्प ग्रुप पिन्छेंले २०६५ सालमा सो प्रतियोगिता पहिलो पटक आयोजना गरेको थियो । त्यसको अपार सफलता र सबैतिरबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखेर सोही ग्रुपले २०६६ सालमा पुनः सोही प्रतियोगिता आयोजना गरेको थियो । मानिसहरुको क्षमता प्रस्फुटिन गराउन, ललितपुरमा खेलकुदको विकास र योग्य र प्रतिभाशाली खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वलाई आत्मसात गर्दै २०६७ सालमा योङ्गस्टर्स ब्याडमिन्टन क्लब नागबहालले यस प्रतियोगिता आयोजना गरेको थियो । यसपछि हरेक वर्ष विभिन्न टोल, संस्थाले प्रतियोगिता आयोजनाको जिम्मेवारी लिँदै आइरहेको छ । यस क्रममा यस पटक मंगल टोल सुधार समितिले आयोजनाको जिम्मेवारी लिएको हो ।
ललितपुरमा हाल यस प्रतियोगिताले एउटा नौलो परम्पराको रुपमा स्थापित भएको छ । यस खेलले विशेषतः ललितपुर (पाटन) का युवावर्ग र किशोरकिशोरीहरुलाई ब्याडमिन्टन खेलतर्फ आकर्षण बढाउँदै कुलतमा लाग्ने सम्भावनालाई न्यूनीकरण जनाइएको छ ।