संखुवासभा, असोज ४ । संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भिरबाट जिप खसेर अरुण नदीमा बेपत्ता भएकाहरूको अझै पत्ता लाग्न सकेको छैन । काठमाडौंबाट आएको गोताखोर टोलीले दुई दिनसम्म खोजी गर्दा पनि उनीहरू फेला नपरेका हुन् ।
काठमाडौंबाट आएको नेपाल सशस्त्र बलका विपत् उद्धार गणको दक्ष प्राविधिक टोलीको नेतृत्व वरिष्ठ हवल्दार बलराम अधिकारीले गरेका छन् । उनीसहित चारजना गोताखोर टोली आएका छन् । उनीहरूले अरुण नदीको अक्करको भीरमा जिप खसेको ठाउँमा पानीको गहिराइ ४० फिट रहेको जनाएको छ । बगेको पानी र अरुण नदीको छाल ठूलो भएकाले गहिराइसम्म पुगेर गोताखोर टोलीलाई खोजी गर्नसमेत समस्या भइरहेको जनाएको छ ।
बाढीको कारणले अरुण नदीभित्रको पानी धमिलो र त्यसमाथि लगातारको वर्षात्ले पानीको बहाव बढेपछि खोजी गर्न समस्या भइरहेको खोजी कार्यमा संलग्न हवल्दार अधिकारीले बताए । उनले बाढीका कारण पानीभित्र लेदोसहित धमिलो छ । पानीभित्र पस्दा आँखाले करिब एकमिटरको हाराहारी मात्रै देखिन्छ । तर, हामीलाई विश्वास छ, हामी पत्ता लगाउँछौँ,’ अधिकारीले भने ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक भीमबहादुर लामाले शनिबार पनि खोजी कार्य जारी रहने जानकारी दिए । घटनास्थलमा जिप दुर्घटनामा परेका घरपरिवार र आफन्तहरूको भीड लागेको छ । जिप दुर्घटनामा बेपत्ता भएका संगम श्रेष्ठका आफन्त रणबहादुर श्रेष्ठले दिनहुँ मान्छे भेटिएला कि भनेर अरुण नदीमा आउनु मात्रै भएको बताए ।
उनले तीन दिनदेखि ३५ किलोमिटर टाढा रहेको अक्करे भिरमा आउँदै फर्कंदै गरेको बताए । गएको मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को.१ज ३७४९ नम्बरको बोलेरो जिप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा एकै घरका तीनजना, साला भेना र जिपचालक रहेका छन् । –नयाँ पत्रिका दैनिकबाट