काठमाडौं, असार ३१ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई सफल बनाउन सबैजना एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित १३औँ साग सचिवालयले सोमबार आयोजना गरेको १३औँ सागमा सहभागी हुने खेल संघहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।
मन्त्री विश्वकर्माले सागका लागि मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउदै पूरै सामाथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए । उनले ५/७ दिनमा सागको कार्यविधि आउने बताउदै आवश्यकता अनुसारको उपसमिति पनि गठन गरिने बताए । उनले भने, ‘साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास छ । यसलाई कायम राख्न हमी सबै प्रयासरत हुन जरुरी छ ।’
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नवनिर्मित अडिटोरियम हलमा भएको कार्यक्रममा सागमा समावेश विभिन्न २७ खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरुको सहभागिता थियो । त्यस अवसरमा सहभागीहरुले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामाग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनु पर्नेलगायतका विषयमा सुझावसहितको आ–आफ्नो धारणा राखेका थिए ।
संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भब्यताका साथ सम्पन्न गर्नु सबै नेपालीको दायित्व र जिम्मेवारी भएको बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालकै कारण साग नरोकिने बताउदै वर्तमान सदस्य–सचिवको कार्यशैली प्रशंसनीय रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठासंग जोडिएको सागलाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यन्वयन गर्नेतर्फ केन्द्रीत हुने बताउदै सागलाई परिणामुखी बनाउन प्रयासरत रहने बताए । उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभाग मातहत रहेका खेल पूर्वाधार आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउदै सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।