काठमाडौं, असार २९ । आजदेखि ११औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु हुने भएको छ । मंगलबारसम्म चल्ने केन्द्रीयस्तरको यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुन लागेको हो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख मिनकुमार शर्माका अनुसार यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा हुने छ । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र÷छात्राको टिमले भाग लिने छ । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउने छन् । तेक्वान्दो र उसुमा समान ४८–४८ खेलाडीले समान ६–६ स्वर्णका लागि भिडन्त गर्ने छन् ।
एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा खेलाइने छ ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।