जेठ १, कञ्चनपुर । जंगली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थित् बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जंगली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रू.३ लाख ३० हजार रकम खर्चेर २ हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको हो ।
वन क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, हात्ती, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुंगीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताए । बढ्दो गर्मीसँगै चुरे क्षेत्रको वन भएकाले खहरेखोलामा पानी सुक्ने गरेको छ, उनले भने, ‘प्राकृतिक ताल सुक्ने भएकाले सौर्यपम्प जडान गर्नुपरेको छ ।’
पानीको खोजी गर्दै जंगली जनावरले मानव बस्तीमा पसेर मानिसलाईसमेत आक्रमण गर्ने गरेका छन् । जनावरको आक्रमणलाई न्यूनीकरण गर्नका लागि सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशयजस्तै बनाइएको उनले बताए । पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजनासमेत बनाइएको छ । पोखरीमा माछापालन गरेर वार्षिक रुपमा रू. ३५ लाख बढी आम्दानी लिन सकिने अध्यक्ष महराको भनाइ छ ।
जलपक्षीका ताल संरक्षण गरिने
कञ्चनपुरको बेलौरी नगरपालिका ६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । रू. १६ लाख लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतीलाल चौधरीले बताए ।
‘तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ’, उनले भने, ‘पोखरीमा माछापालन गर्दा स्थानीय बासिन्दाको आयस्रोतसमेत वृद्धि हुन्छ ।’ आगन्तुक र रैथाने जलपक्षीका लागि पुरैनी ताल प्रख्यात रहेको छ । ताल पहिला ३२ बिघा क्षेत्रफलमा फैलिएको थियो ।
स्थानीय बासिन्दाले तालको वरिपरिको क्षेत्रमा अतिक्रमण गरी खेती गर्न थालेपछि ताल २८ बिघा क्षेत्रफलमा खुम्चिएको स्थानीयवासी रामबहादुर चौधरीले बताए । ताल अतिक्रमण हटाउनका लागि नगरपालिका कार्यालयले जग्गाको नक्सांकन गर्ने जानकारी दिएको छ । स्थानीय बासिन्दासमेत ताल संरक्षणका लागि काम अगाडि बढाइने भएपछि तालको अतिक्रमण गरेको जग्गा फिर्ता गर्नका लागि सहमत छन् ।
ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ । तालमा रहेका जलपक्षीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाइराख्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दालाई सचेत पार्दै आएको छ ।
तराई क्षेत्रका अधिकांश ताल वैशाख, जेठमा सुक्ने गरे पनि यस तालमा बाह्रै महीना एकनाशको पानी रहने गरेको छ । ताल कमलका फूलका लागि समेत प्रख्यात छ । स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसकै आधारमा तालको नाम पुरैनी राखिएको हो । रासस