जेठ १, बेत्रावती(नुवाकोट) । त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधवारदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका ५ स्थित् माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादन गृहदेखि काठमाडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो ।
परीक्षण अवधि लगातार तीन दिन चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ ।
प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ) का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिगं तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५/१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ ।
प्रसारण लाइनको परीक्षणमा खटिएका चिनियाँ प्राविधिकको मंगलवार यहाँको लिखु गाउँपालिका ३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहने प्राविधिले बताएका छन् । नुवाकोट र रसुवामा उत्पादित् विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न वि.सं. २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।
उक्त प्रसारण लाइनमा १४० ओटा खम्बा गाडिएका छन् । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तरगत् नेपालमा पहिलोपटक काठमाडौंको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार भूमिमूनिबाट विस्तार गरिएको छ । उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गंगासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ ।
उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रू.२ अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ । रासस