प्युठान । रोल्पाको रुम्टीगढीबाट आएका बाल तपस्वी नारायण गौतमले वि.सं. १९५२ वैसाख पूर्णिमामा स्वर्गद्वारीमा महायज्ञ लगाए । यज्ञलाई अखण्ड राख्नकै लागि त्यहाँ आश्रम समेत खडा गरियो ।
अखण्ड महायज्ञ र द्वापर युगका पञ्चपाण्डव स्वर्ग गएको ढोकाका रूपमा लिने स्वर्गद्वारी हेर्न नेपाल र भारतका लाखौँ पर्यटक वर्षेनी आउन थाले । त्यही भेटीबाट स्वर्गद्वारी आश्रमको नामका जग्गा जोडियो । संकलित भेटीले प्युठान र दाङमा जग्गा थपिँदै गयो । स्वर्गद्वारीमा घुइँचो लाग्न थालेपछि यज्ञका लागि चाहिने दूध, दही र घ्युका लागि सोही जग्गामा गाई पाल्न थालियो ।
महायज्ञमा चाहिने ध्युका लागि गाई पालन गरिएको थियो । तपस्वी गौतमको निधन हुनुअघि वि.सं. १९९७ मा स्वर्गद्वारीमा एक हजार गाई पालन गरिएका थिए । प्युठान र दाङका जग्गाबाट १ हजार ७ सय ९३ क्विन्टल धान र ४ सय ४० क्विन्टल तोरी पनि आउँथ्यो ।
स्वर्गद्वारी आश्रमको रेकर्डमा आश्रमका नाममा २६ हजार रोपनी पाखो जग्गा र कोचिबाङमा १ सय ४० रोपनी खेत छ । रोल्पाको रुम्टीमा १३ रोपनी जग्गा पनि छ । त्यस्तै, दाङमा १ हजार १२ बिघा जग्गा छ । त्यसमध्ये ३० बिघाको मात्रै आयस्ता अहिले आश्रमलाई प्राप्त हुन्छ । धेरैजसो जग्गा लमही, घोराही, रामपुर र टरिगाउँमा छन् । ती जग्गाको बजार मूल्य कम्तीमा पनि ८ खर्बभन्दा बढी रहेको बताइन्छ । त्यसबाहेक, नेपाल बैंक लिमिटेडमा रहेको खातामा ३ करोड रुपैयाँ अक्षय कोष जम्मा छ । यो कोष चलाउन मिल्दैन । यत्ति ठुलो सम्पत्ति भएको आश्रम अहिले आर्थिक रूपमा टाट पल्टिने अवस्थामा छ । जसको मुख्य कारण हो, भूमाफिया ।
२०२८ सालमा मोहीलाई केही जग्गा नामसारी गरिए बाहेक कागजमा स्वर्गद्वारीको जग्गा जत्तिको त्यत्ति छ । तर, व्यवहारमा भने जग्गा पूरै भूमाफियाको कब्जामा परेको छ । आश्रमको जग्गामा अहिले ठुल्ठुला भवन बनेका छन् । किसानहरूले कब्जा जमाएर बसेका छन् । वार्षिक २ देखि ५ क्विन्टलसम्म अन्न दिने सम्झौता भए पनि किसानहरूले दिएका छैनन् ।
‘आश्रमकै नाममा लालपुर्जा छ । तर, हकभोग भने व्यक्तिले गरिरहेका छन्,’ स्वर्गद्वारी आश्रमका प्रशासन प्रमुख हरि अधिकारीले भने, ‘आश्रमको नाममा रहेको जग्गाको वर्षेनी कर तिरिरहेका छौँ । तर, २४ वर्षदेखि आयस्ता शून्य छ ।’ मोही किसानले वर्षेनी बुझाउनुपर्ने कुत नदिँदा आश्रम संकटमा पर्दै गएको छ । आश्रमका जग्गा भूमाफियाले लाखौँ रुपैयाँमा किनबेच गरेका छन् ।
आश्रमको नाममा रहेको १ हजार ५० बिघा जग्गामा ३६ सय ११ कित्ता छ । पुरानो मोही संख्या २ सय ७९ छ । तर, जग्गा कब्जा गर्नेहरू ८ सयभन्दा बढी छन् । साबिक चैलाही र सतबरिया मौजाको जग्गामा समस्या छ । चैलाही मौजाको अर्नहवा र रामपुरमा मात्रै ३ सय बिघा जग्गा अतिक्रमणमा परेको छ । आन्तरिक रूपमा लाखौं मूल्यमा यहाँ किनबेच चल्छ । पुर्जा आश्रमको नाममा छ । तर, लाखौं मूल्यमा जग्गा बिक्री गरेका छन् । किसानहरूले जोतेको जग्गामा तेस्रो व्यक्तिको हालिमुहाली छ । आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन् । अरु व्यक्तिहरूले नै जग्गा चर्चिएका छन् ।
भूमाफियालाई स्थानीय राजनीतिक दलहरूले पनि सहयोग गरेका छन् । स्वर्गद्वारीको जग्गामा बस्दै आएका मोही, अँधिया गर्दै आएका किसान र भोगचलन गर्दै आएका व्यक्तिबारे राजनीतिक दलहरूको प्रस्ट दृष्टिकोण नआएसम्म समस्याले निकास पाउने अवस्था देखिन्न । त्यसैले दाङमा हरेक निर्वाचनमा आश्रमको जग्गाको लालपुर्जा बनाउने चुनावी नारा बन्छ ।
आश्रमको स्वामित्वमा रहेको लमही–७ उचानिम्बुमा बस्दै आएका सिउनारायण चौधरीले नेताहरूले चुनावमा जग्गाको पुर्जा दिलाइदिने आश्वासन दिने गरेको बताए । आफूहरू वर्षौंदेखि जग्गा जोत्दै आए पनि आफ्नो नाममा जग्गा पिरलो भइरहने उनी बताउँछन् । ‘नेताहरू आएर जग्गाको लालपुर्जा दिलाइदिन्छौँ भन्नुहुन्छ । पुस्तौँदेखि भोगचलन गरिरहेका छौँ,’ उनले भने, ‘जग्गा छ, पुर्जा छैन ।’ वर्षौंदेख खनजोत गर्दै आएको जग्गाको मोहियानी हक आफूहरूले पाउनुपर्ने उनको भनाइ छ ।
आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेका अनुसार पहिला सबै जग्गामा अँधिया खेती गरिन्थ्यो । अहिले अरूले भोगचलन गरे पनि उत्पादन दिएका छैनन् । आयश्रोत गुमेपछि स्वर्गद्वारीको संरक्षण र विकासमा बाधा पुगेको छ । ’२०५० र ५१ सालदेखि जग्गामा धेरैले आँखा गाडे । आश्रमको जग्गामा राजनीति भयो,’ उनी भन्छन्, ‘अँधिया लगाउनेलाई भाँडेर टाठाबाठाले आश्रमको जग्गा कब्जा गरे ।’