काठमाडाैं, १७ भदाै — बलिउड एक्टर राजकुमार राव र एक्ट्रेस श्रद्धा कपूरको फिल्म ‘स्त्री’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कुनै विशेष दिन विना नै रिलिज भएको यो लो बजेटको फिल्मले यतिबेला सिनेमा घरमा शानदार कलेक्सन गरिरहेको छ ।
पहिलो दिन ६.८२ करोडको कमाई गरेको फिल्मले दोस्रो दिन जबर्जस्त कलेक्सन गरेको छ । दोस्रो दिन फिल्मले १०.८७ करोडको कमाई गरेको छ । दुई दिनमा १७ करोड ६९ लाखको कमाई गरेको फिल्मले तीन दिने विकेन्डमा ३० करोडको आँकडा छुने अनुमान गरिएको छ ।
हरर कमेडीको उत्कृष्ट कथा, शानदार स्टार कास्ट र दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण फिल्मको विजनेशमा ठूलो उप्रभाव परेको छ । फिल्म ट्रेड एक्सपर्ट तरुण आदर्शले शनिवार ट्विट गर्दै ‘स्त्री’ ले रफ्तार पकडेको बताएका छन् । उनले लेखेका छन्, 'उत्कृष्ट अभिनयका कारण लो बजेटको यो फिल्मलाई ठूलो सफलता मिल्दै गएको छ ।' फिल्ममा अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको पनि महत्वपूर्ण भूमिका छ ।
फिल्मको कहानी
‘स्त्री’ को कथा चन्देरी सहरको हो । जहाँ हरेक घरको बाहिर लेखिएको छ, 'ओ स्त्री कल आना ।' हरेक वर्ष चार दिन देवीको पूजा हुन्छ र त्यही दौरान स्त्रीको भूत आउँछ र पुरुषलाई साथमा लिएर जान्छ ।
यही कारण गाउँका पुरुष साँझको समयमा घरबाट बाहिर निस्कन डराउँछन् । चन्देरीमा विक्की (राजकुमार राव) दर्जी हुन्, जो निकै ट्यालेन्टेड छन् । उनलाई चन्देरीका मनीष मल्होत्रा भन्ने गरिन्छ ।
विक्कीलाई यस्तो युवती (श्रद्धा कपूर) सँग प्रेम हुन्छ, जो हरेक वर्ष मात्र पूजाको समयमा आउँछिन् । यो गाउँबाट स्त्रीको साया हट्छ वा हट्दैन ? र, विक्कीसँग के हुन्छ ? यो जान्नका लागि भने तपाईले एकपटक फिल्म हेर्ने पर्ने हुन्छ